सोमबार, ५ आश्विन, २०८३

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

२०८३ असोज ०४ काठमाडौँ I नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनले दोस्रो दिन पनि निरन्तरता पाएको छ । असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत असोज ४ गतेसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो । अधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरूले उत्साहपूर्वक मतदान गर्दै वडा तहको नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरेका छन् ।

केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन समितिका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा भने वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा अधिवेशन बाँकी रहेको समितिले जनाएको छ ।

समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनामा उल्लेख गरेका छन् । उनले १५औँ महाधिवेशनअन्तर्गत ती वडाहरूमा वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले आज सम्पन्न हुन नसकेका वडा अधिवेशनसहित बाँकी रहेका क्षेत्रको निर्वाचन प्रक्रिया असोज ५ गते सोमबार पनि जारी रहने जनाएको छ ।

advertisement_1676551694.gif