राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौं । कांग्रेस सभापति गगन थापाले कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिएका छन् । सामाखुसीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी दिएका हुन् ।
कांग्रेसका सभापति थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत “बदलियो कांग्रेस, बदल्छौ देश” भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ।
नेपाली कांग्रेस (बिपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ । नेपाली कांग्रेस बीपी समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको कांग्रेसका नेताहरूले बताएका छन् ।
कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो।