शनिबार, २ श्रावण, २०८३

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ असार, २०८३

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण आज

२०८३ असार १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथ ग्रहणको समय तय गरिएको रास्वपा सचिवालयले जनाएको छ।

चितवनमा असार ७ गतेदेखि सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित तीन दिनमा सम्पन्न हुन नसकेपछि सहमतिको प्रयास गर्दागर्दै ६ दिनसम्म लम्बिएर असार १२ गते मात्र समापन भएको थियो ।

महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गर्नुका साथै उपसभापतिद्वयमा डा. स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगीसहित ७ जना प्रमुख पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो ।

सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

संशोधित विधान अनुसार रास्वपाको १५० सदस्यीय केन्द्रीय कार्यसमितिमा महाधिवेशनबाट निर्वाचित ९९ जना रहने र बाँकी ५१ जना सदस्य भने निर्वाचित समितिको सिफारिसमा सभापतिद्वारा मनोनीत गरिने वैधानिक व्यवस्था छ । निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ तथा पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि मात्र मनोनीत प्रक्रिया अघि बढ्ने बताइएको छ ।

advertisement_1680627706.gif