शनिबार, २ श्रावण, २०८३

रास्वपाका नवनिर्वाचित नेतृत्वद्वारा शपथ ग्रहण

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ असार, २०८३

रास्वपाका नवनिर्वाचित नेतृत्वद्वारा शपथ ग्रहण

२०८३ असार १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित नेताहरूलाई शपथ गराएका हुन् ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भव्य रूपमा सम्पन्न भएको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट निर्वाचित भएका ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरू यस प्रक्रियामा सहभागी भएका थिए ।

शपथ ग्रहणको यस विशेष अवसरमा सभापति लामिछानेले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै घण्टीजडित मायाको चिनो र प्रमाणपत्र समेत वितरण गरेका छन् ।

रास्वपाको यो प्रथम महाधिवेशनले पार्टीको सांगठनिक स्वरूप र विधानमा समेत व्यापक परिमार्जन गरेको छ । संशोधित विधान अनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहने र यसमा १९ जना पदाधिकारी रहने व्यवस्था सुनिश्चित गरिएको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियाबाट खुला तथा विभिन्न समावेशी क्लस्टरअन्तर्गत ९९ जना केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित भएका हुन् ।

महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएर आएको यस टिमले आजैदेखि विधिवत रूपमा आफ्नो कार्यभार सम्हाल्दै पार्टीको आन्तरिक संगठन र राजनीतिक कार्यदिशालाई थप सबल, गतिशील र व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ ।

advertisement_1676998982.gif