राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ कार्तिक १५ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरेको छ ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।
उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा सातवटा उपसमितिहरू गठन गरिएका छन् ।
जसमा क्यान्डिडेट क्लबको संयोजकत्व कविन्द्र बुर्लाकोटी, प्रविधिको सुशान्त वैदिक, गुनासो समन्वयको जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिताको डा. तोशिमा कार्की, क्षमता विकास समन्वयको टासी ल्हाजोम, व्यवस्थापनको रहबर अनसारी र प्रचारप्रसार उपसमितिको संयोजकत्व मिलन लिम्बूले सम्हाल्ने भएका छन् ।
यसैगरी, बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।