राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ भाद्र, २०८२
२०८२ भदौ १५, काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा ७२ जना चलचित्रकर्मीलाई सो परिचयपत्र प्रदान गरिएको हो ।
समारोहमा परिचयपत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका थिए ।
परिचय पत्र पाउनेमा नेपाली भाषा, जातीय क्षेत्रीय फिल्म निर्माता, निर्देशक, कलाकार, प्राविधिकहरू रहेका छन् । बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार नेपाली चलचित्र क्षेत्रमा योगदान गर्ने चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो ।
१३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ देखि भएको थियो। त्यसपछि त्यही वर्षको असार १६ मा २७ जना, विसं २०७९ असार १६ मा ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ ।