राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २५ काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । आइतबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टरसहित ३ सय ८६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनले बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको बताए । सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको उनले जानकारी दिए ।
त्यसैगरी उनले बाढीले धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौंजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको जानकारी दिए । उनले बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको समेत जानकारी दिए ।
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
बाढीले आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको उप्रेतीले जानकारी दिए । उनले माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेको समेत जानकारी दिए ।
बाढी गरेको क्षतिको थप विवरण संकलन कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।