राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ २२ काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११:०० बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १,३५५ जनाको शव (विभिन्न मानव अंगसहित) फेला परेको छ।
जसमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको हो । हालसम्म ९८ वटा शवको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
यसैगरी, करिब ४,९९६ जना अझै सम्पर्कविहीन रहेका छन् । जसमध्ये रसुवाबाट प्राप्त तथ्यांक अनुसार करिब १,९६७ जना, नुवाकोटबाट करिब २,३४० जना नेपाली नागरिक, विभिन्न क्षेत्रका सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र करिब ५८९ जना विदेशी नागरिक रहेका छन् ।
विपद्पश्चात् हालसम्म १३,३९६ जनाको जीवितै उद्धार गरिएको छ । घाइते भएका ६,६७२ जनाको उपचार गरिएको छ, जसमध्ये नेपाली सेनाबाट ३,३७९ जना, सशस्त्र प्रहरीबाट २,९७० जना र विभिन्न अस्पतालहरूमा ३२३ जना (२२८ जना डिस्चार्ज भइसकेका) को उपचार भएको छ ।
प्रभावितहरूका लागि सञ्चालित ३९ वटा होल्डिङ सेन्टरमा हाल ३,५३३ जना बसोबास गरिरहेका छन्। जसमध्ये नुवाकोटमा २,६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन् । उद्धार र राहत कार्यका लागि हालसम्म २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।