राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ भदौ १४ काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव पुन: बढेको सूचना प्राप्त भएको छ । नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।
महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठुलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो ठुलो भने नरहेको पाइएको छ ।
बहाव बढेको सूचनाका आधारमा ती क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको थियो ।