राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ भदौ २६ काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि स्वदेश तथा विदेशबाट संकलित सहयोगसहित प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी कोषमा दाखिला गरिएको हो ।
प्रधानमन्त्री राहत कोषको नेपाली रुपैयाँतर्फ नौवटा वाणिज्य बैंकका खातामा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ ।
कोषको विदेशी मुद्रातर्फ दुईवटा वाणिज्य बैंकका खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ ।
नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमको एकीकृत मूल्यका आधारमा कोषको कुल मौज्दात १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ पुगेको हो ।
राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा निकासा गरिसकेको छ ।
निकासा गरिएको रकम बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा तत्कालीन विपद् प्रतिकार्यमा परिचालन गरिनेछ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सार्वजनिक रूपमा सहयोग आह्वान गरेको थियो ।