सोमबार, २२ भाद्र, २०८३

राष्ट्रपतिले गरे भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको अवलोकन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

राष्ट्रपतिले गरे भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको अवलोकन

२०८३ भदौ २२ नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित तथा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासो सुनेका छन् ।

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको प्रभाव र त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट विस्तृत जानकारी लिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यहरूले बाढीले पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए । साथै, प्रजिअ रेग्मीले बाढीपीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल गर्नुपर्ने पुनःनिर्माणका कामहरूबारे राष्ट्रपतिलाई अवगत गराए ।

अनुगमनका क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरे । त्यहाँ प्रभावित नागरिकहरूले बाढीले पुर्याएको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार र सरोकारवाला निकायहरूले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलले आजै नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्पका साथै रसुवाका बाढीप्रभावित क्षेत्रहरूको समेत स्थलगत अवलोकन गरेका छन् ।

advertisement_1676553851.gif