राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ ११ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १६२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी मृतकको संख्या १६२ पुगेको हो ।
प्रहरीको तथ्याङ्क अनुसार बाढीबाट सबैभन्दा बढी क्षति चितवनमा भएको छ, जहाँ ६४ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पूर्वमा २६, धादिङ र गोरखामा २०-२०, नुवाकोटमा १२, तनहुँमा नौ, तथा रसुवा र नवलपरासी पश्चिममा दुई-दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार र खोज कार्यका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यद्यपि, बाढीका कारण हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र हालसम्म सम्पर्कमा आएका छन् । त्यसैगरी अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकी २८ जनाको खोजी जारी छ ।
यस प्राकृतिक विपत्तिमा परी ४१ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय तथा सुविधायुक्त विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रहरूमा ठूलो परिमाणमा जनधनको क्षति भएको छ। नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायले बेपत्ता भएकाहरूको निरन्तर खोजी गर्नुका साथै प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य जारी राखेका छन् ।
घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । यस्तै, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जना घाइते उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।