शनिबार, २ श्रावण, २०८३

देशभर मनसुन सक्रिय: कर्णाली र सुदूरपश्चिमका केही स्‍थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ असार, २०८३

देशभर मनसुन सक्रिय: कर्णाली र सुदूरपश्चिमका केही स्‍थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२०८३ असार १९, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ । 

यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ । तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यसैगरी, असार २० गते शनिबार पनि मौसममा खासै सुधार आउने देखिँदैन । शनिबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। सो दिन पनि देशका विभिन्न स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहनेछ। शनिबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली हुनेछ ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

advertisement_1676998982.gif