राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ जेष्ठ २२, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्ने उद्देश्यसहित तयार पारेको विधेयकको मस्यौदा पुनः गृह मन्त्रालयमा पठाएको छ ।
आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो ।
यसअघि सात वटा अलग-अलग ऐनलाई समेटेर आयोगले २०८० असार १८ गते नै उक्त विधेयकको प्रारम्भिक मस्यौदा सरकारलाई पठाएको थियो। तर सो प्रस्ताव लामो समयसम्म गृह मन्त्रालयमा निष्क्रिय अवस्थामा रहेको जनाइएको छ ।
पछि भदौमा भएको जेन जेड आन्दोलन र संसद् विघटनपछि गृह मन्त्रालयले सो मस्यौदा पुनः सुधार तथा सुझावका लागि आयोगमै फिर्ता पठाएको थियो ।
नयाँ मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने व्यवस्था, विद्युतीय मतदान प्रणाली (ई-भोटिङ) को प्रयोग तथा ‘नो भोट’ सम्बन्धी प्रावधानसमेत समावेश गरिएको छ ।