शनिबार, ३ फाल्गुन, २०८१

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ असार, २०८१

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

काठमाडौं, असार २३ । शुक्रबार रातिदेखि अविरल वर्षासँगै आएको बाढी,पहिरो र डुबानमा परी हालसम्म देशभर विभिन्‍न जिल्‍लाहरूमा १४ जनाको मृत्यु भएको छ । बाढी,पहिरो र डुबानमा परी १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ।

बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणी, महाकालीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif