राष्ट्रिय सन्देश संबाददाता, २३ घण्टा पहिले
२०८३ कार्तिक १० काठमाडौँ । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन विशेष आग्रह गरेको छ। यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र तथा अन्य महत्त्वपूर्ण संरचनाहरूमा आक्रमण तीव्र पारेपछि दूतावासले सूचना जारी गर्दै नेपालीहरूलाई सुरक्षा अवस्थाप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रहरूमा नजान अपिल गरेको हो।
दूतावासले साउदी सुरक्षा निकाय तथा आधिकारिक निकायहरूबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न, तथा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक वा अपुष्ट सूचना, तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्नसमेत सचेत गराएको छ।
यसैगरी,हवाई यात्राको तयारीमा रहेका नेपालीहरूलाई उडान तालिकामा कुनै फेरबदल भए/नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र घर वा बसोबासस्थलबाट निस्कन अनुरोध गरिएको छ।कुनै आपत्कालीन अवस्था वा समस्या आइपरेमा रियादमा रहेको दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा तत्काल सम्पर्क गर्न भनिएको छ। हाल साउदी अरबमा करिब ४ लाख नेपाली श्रमिकहरू कार्यरत रहेका छन् भने वैदेशिक रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपालीहरू त्यसतर्फ जाने गरेका छन्।