राष्ट्रिय सन्देश संबाददाता, २० घण्टा पहिले
२०८३ साउन ०३, चितवन ।निरन्तर भइरहेको भारी वर्षाका कारण पहिरोको जोखिम उच्च भएपछि नारायणगढ–मुग्लिङ–काठमाडौं सडक खण्ड आज रातिदेखि पूर्ण रूपमा बन्द हुने भएको छ । सम्भावित दुर्घटना र मानवीय क्षतिलाई रोक्न जिल्ला प्रशासन कार्यालयले उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
कार्यालयका अनुसार आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सडक खण्डमा सबै प्रकृतिका सवारी साधनहरूको आवागमन बन्द रहनेछ ।रातको समयमा यात्रा गर्दा पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम अझ बढी हुने भएकाले सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ ।
मौसममा सुधार नआएसम्म र सडक पूर्ण सुरक्षित नभएसम्मका लागि वैकल्पिक मार्गको प्रयोग गर्न तथा अत्यन्त जरुरी नभई यात्रा नगर्न समेत प्रशासनले अपिल गरेको छ ।