शनिबार, २ श्रावण, २०८३

आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई तत्काल भारत नलैजाने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ असार, २०८३

आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई  तत्काल भारत नलैजाने

२०८३ असार २६, काठमाडौँ । सरकारले कीर्तिपुरस्थित वीर अस्पतालमा उपचाररत् २५ वर्षीय गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलैजाने भएको छ ।

आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका मुगु सोरु गाउँपालिका–१ का नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा भए तापनि चिकित्सकहरूको पछिल्लो सुझावका आधारमा सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर (क्रिटिकल) रहेको छ । यस्तो संवेदनशील अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा ज्यानको जोखिम झन् बढ्न सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

५५ प्रतिशत शरीर जलेका नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र बाहिर लैजान उपयुक्त हुने चिकित्सकहरूको सल्लाहबमोजिम सरकारले तत्कालका लागि सो तयारी स्थगित गरेको हो । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको अहिले सोही अस्पतालमा विशेष निगरानीका साथ उपचार भइरहेको छ ।

advertisement_1676553851.gif