सोमबार, ११ श्रावण, २०८३

चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका सबै सेवा ठप्प

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका सबै सेवा ठप्प

२०८३ साउन १०, काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवासहित सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन सुरु गरेका छन्। अस्पतालमा आकस्मिक सेवा नै बन्द गरिएको यो पहिलो घटना भएको जनाइएको छ ।

शनिबार आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। सोही क्रममा चिकित्सक तथा अस्पताल प्रशासनमाथि हातपातसमेत भएको थियो । घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैबीच नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडा कानुनी कारबाही, निलम्बनमा परेका चिकित्सकहरूको जिम्मेवारी पुनः स्थापना लगायत चार बुँदे माग सार्वजनिक गरेको छ। चिकित्सकहरूले आफ्ना माग पूरा नभएसम्म आकस्मिक सेवासहित अस्पतालका सबै सेवा स्थगित रहने बताएका छन् ।

यसअघि नेपाल चिकित्सक संघले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो ।

advertisement_1676553908.gif