राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ साउन २९, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।
बोर्डले शुक्रबारदेखि ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार डिजिटल सेवा सुरु गरेको हो ।
नयाँ प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको बोर्डले जनाएको छ । राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले तत्कालका लागि अन्य परिचयपत्रका आधारमा आवश्यक डिजिटल विवरण पेस गरी प्रक्रिया अघि बढाउन सक्नेछन् ।
स्वास्थ्य बीमाको प्रिमियम अब इसेवा, खल्ती र कनेक्टआईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । सम्बन्धित व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल रूपमा स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सकिने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमामा आबद्ध परिवारले आफ्नो विवरणमा आएको परिवर्तनसमेत ई–पोर्टलबाट अद्यावधिक गर्न सक्नेछन् । परिवारका सदस्य थपघट, ठेगाना परिवर्तनलगायत विवरण संशोधनका लागि अनलाइनबाटै आवश्यक प्रक्रिया पूरा गर्न सकिनेछ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ई-पोर्टलको प्रयोग विस्तार गरिएको जनाएको छ ।
अनलाइन सेवा सञ्चालनसँगै स्वास्थ्य बीमामा आबद्धता, नवीकरण र विवरण व्यवस्थापन सहज हुने तथा सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने बोर्डको अपेक्षा छ ।