राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ साउन १३, काठमाडौँ। स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, गृह, र उद्योग मन्त्रालयका प्रतिनिधि तथा चिकित्सक संघका पदाधिकारीहरूबीच भएको गहन छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति जुटेसँगै चिकित्सक संघले आफ्ना आन्दोलनका सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै देशभरका नियमित स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ । वार्ताका क्रममा सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।
यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ ।
सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ ।