बिहीबार, १४ श्रावण, २०८३

देशका विभिन्न राजमार्ग पहिरो, बाढी र वर्षाका कारण अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ श्रावण, २०८३

देशका विभिन्न राजमार्ग  पहिरो, बाढी र वर्षाका कारण अवरुद्ध

२०८३ साउन १२, काठमाडौँ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ८:४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ  ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५:००देखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ । 

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ घोराही–थवाङ शहीद राजमार्गमा आज बिहान सुक्खा पहिरो खस्दा  सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ बेँसीसहर–च्यामे–मनाङ सडक खण्ड पनि  पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

advertisement_1680627706.gif