राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ जेष्ठ, २०८२
१२ जेठ २०८२, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल भएर सडकमा हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस नियन्त्रणमा नआएर थाहा नगरपालिकाका उपमेयर भरत गोपालिको घर भित्र पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट प्रहरी नायब निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा थाहा–९ का ४० वर्षीय कृष्ण बलामी र झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर रहेका छन् । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा राखिएको छ।
दुर्घटनामा घाइते भएका चार जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । ३५ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनीहरूलाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्ज लामाको दाहिने हातमा चोट लागेको छ भने कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
बसका चालक मकवानपुर थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।