राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ श्रावण, २०८१
चितवन, साउन २ । चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्थानीयबासीले जलाइदिएका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका-७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन् ।
गाडीमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए ।
टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार वडा नं. ७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए ।
भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका लागि सरकारी अनुमति लिएर आएको भन्दै कन्सल्टेन्सीका प्राविधिकले बताएपनि स्थानीयले मानेका थिएनन् । आज वडा नम्बर ७ मा सर्भे गर्दा गर्दै उनीहरूलाई स्थानीयबासीले घेरेका हुन् ।
स्थानीयले लगाएको आगो प्रहरीको सहयोगमा भरतपुर महानगरपालिकाको दमकलले गाडीमा लागेको आगो निभाएको छ ।