राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ असार, २०८२
६ असार २०८२, ललितपुर । ललितपुरको ग्वार्को स्थित ओभर पासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।
दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम नसकिए पछि २०८१ पुस ९ सम्मका लागि म्याद थपेको थियो ।
पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।