राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० कार्तिक, २०८२
२०८२ कार्तिक १९, दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा आएको हिमपहिरोमा परी ३ जनाको मृत्यु र ४ जना वेपत्ता भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यलुङ री हिपहिरोमा परेर एक विदेशी र २ नेपाली गरी ३ जनाको मृत्यु भएको हो भने ४ जना वेपत्ता भएका छन् ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) ज्ञान कुमार महतोका अनुसार घटनास्थलमा एक विदेशी र २ नेपालीको शव फेला परेको हो ।
हिमपहिरोमा परी दोलखाको गौरीशंकर गाउँपालिका-९ सिमिगाउँका पदम तामाङ र सोलुखुम्बु घर भएका मेरे कार्कीको मृत्यु भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले पुष्टि गरेका छन् ।
उनीहरु टुरिष्ट गाइड र सहयोगीका रुपमा विदेशी पर्यटकसँगै गएका थिए । हिमपहिरोमा परी एक विदेशीको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार वेपत्ता रहेका विदेशी नागरिकमा इटालियन नागरिक Paolo Cocco र Markus Kircehler, क्यानेडियन नागरिक Marco di Marcello, फ्रान्सका Manfredi Christian Andre र जर्मनीका आरोही Jakob Schreiber रहेका छन् ।
ती मध्य एक जनाको शव फेला परेपनि कसको हो भन्ने पुष्टि भएको छैन । बेपत्ता ४ जनाको खोजी कार्य जारी रहेपनि अझै शव फेला पार्न नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच, दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपहिरोमा परेका ८ जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परी घाइते भएका ८ जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । ३ विदेशी र ५ नेपाली गरी ८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । हिमपहिरोमा परी घाइते भएका विदेशी पर्यटकहरु Carole Fuchs, Dididr Armand Betior र Thaon Isabelle Solange को उद्धार गरिएको छ । उनीहरु तीनै जना फ्रान्सका नागरिक हुन् ।
विदेशी पर्यटकहरुसँगै टुरिष्ट गाइड र सहयोगीका रुपमा गएका दोलखाको गौरीशंक-९ वेदिङका निमा गेज्लेन शेर्पा, सोलुखुम्बुका लाक्पा तामाङ, स्याङ्जाका राजु गुरुङ, बारा घर भई काठमाडौँ बस्ने छुल्ठिम डोल्मा गुरुङ र गोरखाका सुन बहादुर गुरुङलाई पनि उद्धार गरिएको हो । ठूलो हिमपहिरो आएका कारण वेस क्याम्पमा टेन्ट टाँगेर बसेका विदेशी र नेपालीहरु एकैसाथ पुरिएका थिए ।
आरोहण दलको नेतृत्व गरेका ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका फाउण्डर एवम् म्यानेजिङ डाइरेक्टर तथा विश्व विख्यात आरोही फुर्वा तेन्जिङ शेर्पाको टोली अहिले पनि ना गाउँमा रहेको छ ।
१५ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका शेर्पाको टोलीले वेपत्ताहरुको खोजी कार्य जारी राखेको छ । खोजी कार्य जारी रहेको र वेपत्ताहरुको जिवितै भेटिने सम्भावना कम रहेको उद्धारमा खटिएका शेर्पाले जानकारी दिएका छन् ।