बिहीबार, २५ भाद्र, २०८३

राप्रपा वाग्मती प्रदेशका चार सांसद पदमुक्त नहुने उपसभामुखको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

राप्रपा वाग्मती प्रदेशका चार सांसद पदमुक्त नहुने उपसभामुखको निर्णय

२०८३ भदौ २४ काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ह्वीप उल्लङ्घन गरेको आरोप लगाउँदै बागमती प्रदेशका आफ्ना चार सांसदलाई पदमुक्त गर्न गरेको सिफारिसलाई प्रदेशसभाले अस्वीकार गरेको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलका नेता उद्धव थापासहित प्रदेशसभा सदस्यहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदबाट हटाउन पत्राचार गरे पनि प्रदेश उपसभामुख अप्सरा चापागाईँले उनीहरूलाई पदमुक्त नगर्ने निर्णय गरेकी हुन्।

प्रदेश सभा सचिवालयका प्रवक्ता तथा कानुन उपसचिव प्रकाश चापागाईँद्वारा जारी विज्ञप्तिअनुसार भदौ २३ गते सार्वजनिक बिदा परेकाले २४ गते उपसभामुख तहबाट सो निर्णय औपचारिक रूपमा गरिएको हो।

 राप्रपाको कारबाही प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटिहरू देखिएको भन्दै प्रदेशसभा सचिवालयले पद रिक्त गर्न नसकिने प्रष्ट पारेको छ। केन्द्रीय समितिले निष्कासनको सिफारिस गर्दा कानुनी आधार तथा निर्धारित विधि पूरा नगरेको, ह्वीप उल्लङ्घन भएको स्पष्ट पुष्टि नभएको र स्पष्टीकरणका लागि पर्याप्त समय नदिई निर्णय गरिएकाले सो निर्णय प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको सचिवालयले जनाएको छ। प्रदेश सभाले कानुनी र संवैधानिक आधार नपुगेकाले निष्कासनसम्बन्धी पत्रका आधारमा सदस्यहरूको पद रिक्त भएको मान्न नसकिने स्पष्ट पारेको छ।  

advertisement_1680627706.gif