राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३१ भाद्र, २०८०
काठमाडौँ । प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।
तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए । राति मूल गेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउन्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ ।
शुक्रवार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी बताएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाण्डाैकाे काँडाघारीमा रहेकाे वीरेन्द्र चोकमा बस्दै आएका बताउनुभयो । भण्डारीलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठाैरले बताउनुभयो । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र त्यही रिसइबी साँध्नका लागि भण्डारीले बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी राठाैरले बताउनुभयो ।
पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए ।