मंगलवार, २८ आश्विन, २०८२

आज पत्रकार महासंघको निर्वाचन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २८ मंसिर, २०८१

आज पत्रकार महासंघको निर्वाचन

काठमाडौं, मंसिर २८  । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । 

महासंघको अध्यक्षका लागि दुईजना उम्मेदवार प्यानलगत रूपमा र अन्य दुईजना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्। सत्तारूढ गठबन्धननिकट नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलले निर्मला शर्मालाई अध्यक्षको रूपमा अघि सारेको छ।

माओवादी निकट प्रेस सेण्टरको समर्थनमा रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यसअघि युनियनमा सक्रिय विष्टलाई संगठनको निर्णयविरुद्ध उभिएको भन्दै युनियनले कारवाही गरेको छ। स्वतन्त्र समूहबाट देवीप्रसाद सापकोटा र एलएस लामा अध्यक्षको उम्मेदवार बनेका छन्। मुख्य प्रतिस्पर्धा शर्मा र विष्टबीच हुने आँकलन छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि दीपक आचार्य र रोशन पुरी, महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र सुभाषप्रसाद साह, महासचिवमा रामप्रसाद दाहाल, लेखनाथ न्यौपाने र जन्मदेव जैसी उम्मेदवार रहेका छन् । निर्वाचनबाट लेखा समितिसहित ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्।

प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र तोकिएको छ। प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूको मतदानका लागि पनि काठमाडौंका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ।

सूचना विभागबाट जारी प्रेस पास र सरकारी परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ।

देशभर हुने निर्वाचनको मतगणना सम्बन्धित जिल्लामा हुने र एक साताभित्र सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। महासंघको गत चैतमा हुनुपर्ने निर्वाचन विविध कारणले अहिले हुन लागेको हो।

advertisement_1676998982.gif