राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ असार, २०८०
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई अकुत सम्पती आर्जन गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको छ ।
अदालतले गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई १५ महिना कैदको फैसला गरेको छ । साथै ९ करोड १९ लाख रुपैयाँ बिगोसहित जरिबाना गर्न पनि अदालतले आदेश दिएको छ ।
खड्काले गैरकानुनी रुपमा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खड्काले पदमा रहँदा २७ करोड ३० रुपैयाँ खर्च तथा लगानी गरेको र उक्त लगानीमा ८ करोड ६४ लाख रुपैयाँको मात्र स्रोत खुलेको उल्लेख गर्दै अरु रकम गैरकानुनी भएको दाबी अख्तियारले गरेको थियो ।
न्यायाधीश श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुसीप्रसाद थारुको इजलासको फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बिगोबमोजिमको जरिवाना तोकिएको छ भने खड्काको घरजग्गा र बैंक ब्यालेन्ससमेत जफत गर्न विशेषले आदेश दिएको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार सोही मुद्दामा शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा भएका ३ वटा घरसमेत जफत हुनेछन् ।