राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ फाल्गुन, २०८१
२१ फागुन २०८१, काठमाडौं । अमेरिकामा अवैध रुपमा बस्दै आएका नेपालीहरू स्वदेश फिर्ता भएका छन् । फिर्ता हुनेमा ८ जना नेपाली रहेको विमानस्थल अध्यागमनले पुष्टि गरेको छ ।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट नेपालीहरूलाई लिएर आएको गल्फ स्ट्रिमको जीआरपी-२३ चार्टर जहाज ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सो जहाज अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको थियो । अमेरिकाबाट निष्कासितहरूलाई अल्बानियासम्म हत्कडीसमेत लगाइएको थियो ।
नेपाल फिर्ता हुनेमा एक महिला र सात पुरुष छन् । फिर्ता हुनेहरू २२ वर्षदेखि ४७ वर्षसम्म उमेरका छन् । फिर्ता हुने महिला ३५ वर्षकी सुष्मा घर्ती हुन् । त्यस्तै सबैभन्दा कम उमेरका २२ वर्षीय हिमाल बिक र धेरै उमेरका ४७ वर्षीय तीर्थबहादुर थापा छन् ।
नेपाल फिर्ता भएका उनीहरूलाई अध्यागमन कार्यालयले अध्यागमन प्रक्रिया सकेर नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको छ ।