राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ श्रावण, २०८२
२०८२ साउन १३, काठमाडौँ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।
वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा छलफल हुने गरेको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ चार सय हाराहारी रहेको विज्ञहरू बताएका छन् ।
हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायत संस्थाले नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा अध्ययन गरिरहेका छन् ।
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको बताइएको छ ।
सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।