मंगलवार, २८ आश्विन, २०८२

११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २४ फाल्गुन, २०८१

११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदै

२४ फागुन २०८१, काठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

advertisement_1676551646.gif