बिहीबार, १८ भाद्र, २०८३

ग्लोबल आईएमई बैंकले १० प्रतिशत लाभांश को घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

ग्लोबल आईएमई बैंकले १० प्रतिशत लाभांश को घोषणा

२०८३ भदौ १७ काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ ।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेको छ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ का साथै सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि जितिसकेको छ ।

यसबाहेक बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४, २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत प्राप्त गरिसकेको छ । देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको ग्लोबल आईएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।

साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकहरूबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ ।

advertisement_1676551537.gif