राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ कार्तिक ०४ काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विजयादशमीजस्ता मौलिक चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन् ।
नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख अर्यालले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र विविधताबीचको सौहार्दपूर्ण एकतालाई मूर्त रूप दिन माता दुर्गा भवानीले सबैलाई आशीर्वाद प्रदान गरून् भन्ने कामना गरेका छन् ।
“जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावनाअनुरूप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्न, साथै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशील र प्रतिबद्ध छ,” शुभकामना सन्देशमा उल्लेख छ ।
विजयादशमीको यस सुखद् अवसरमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई अझ परिष्कृत र सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्दै उनले यस पर्वले समस्त नेपालीहरूमा नवीन ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गर्ने दृढ विश्वास व्यक्त गरेका छन् ।
सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा दसैँलाई दूराचारमाथि सदाचार र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने स्मरण गराएका छन् । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य-मान्यताको सुमार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।