बुधबार, ५ कार्तिक, २०८३

विजयादशमीको प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: आपसमा सद्भाव, एकता, सम्मान र भ्रातृत्व साटासाट गर्न आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

विजयादशमीको  प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना: आपसमा सद्भाव, एकता, सम्मान र भ्रातृत्व साटासाट गर्न आह्वान

२०८३ कार्तिक ०४ काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने बताएका छन् । पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने स्मरण उनले गराएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्मको मार्गमा अघि बढ्न र विजय हासिल गर्न प्रेरणा प्रदान गर्दछ । टाढा-ढाढा रहेका मान्यजन तथा आफन्त भेटघाट गरी आशीर्वाद लिने यस संस्कृतिले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप प्रगाढ बनाउने धारणा उनले राखेका छन् ।

मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्तिलाई त्याग्न विजयादशमीले प्रेरित गर्ने उल्लेख गर्दै उनले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न जोड दिएका छन् । प्रत्येक नागरिकलाई राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै क्षेत्र र नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ ।

यस्ता विकृति र विसंगति हटाउन इमानदार प्रयास, दृढ संकल्प र सामूहिक मेहनत आवश्यक पर्ने भन्दै प्रधानमन्त्री शाहले वास्तविक परिवर्तनका लागि सोचका साथै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न तथा लामो समयदेखि भेटघाट नभएका साथीभाइ र आफन्तसँग खुसी साटासाट गर्न यो पर्व महत्त्वपूर्ण रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले सबैलाई आ-आफ्नो क्षमता र परिस्थितिअनुसार पर्व मनाउनुका साथै आपसमा सद्भाव, एकता, सम्मान र भ्रातृत्व साटासाट गर्न आह्वान गरेका छन् ।

advertisement_1676551537.gif