राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ आश्विन, २०८१
काठमाडौं, असोज २९ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स प्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।