राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२
असोज २३, २०८२,काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गर्दै सेयर बजारमा तरलता र लगानी प्रवाह बढाउने उद्देश्यले महत्वपूर्ण परिमार्जनहरू गरेको छ । राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशाेधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो ।
अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट धितो कर्जा लिदा कुनै पनि सिमा तोकिने छैन ।त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि पनि घटाएर ६ महिना गरिएको छ ।
यससँगै सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ । केन्द्रीय बैंकले गरेको यो निर्णयले पुँजी बजारमा लगानी सहज बनाउने र बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ताहरुले राष्ट्र बैंकको यो कदमलाई बजारमैत्री नीतिका रूपमा स्वागत गरेका छन् ।