राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२
२०८२ चैत्र १५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन गरिने ‘ब्रिज कोर्ष’ का कक्षाहरू रोक्न कडा निर्देशन दिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नकारात्मक असर पारेको ठहर गर्दै मन्त्रालयले यसमा रोक लगाएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, ब्रिज कोर्षका नाममा भइरहेका गतिविधिले विद्यार्थीको मनोविज्ञानमा प्रतिकूल असर पारेको र शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्ने सरकारी लक्ष्यमा बाधा पुऱ्याएको उल्लेख छ । मन्त्रालयले ब्रिज कोर्ष बन्द गराउनुको पछाडि मुख्य तीनवटा कारणहरू अघि सारेको छ । भर्ना प्रक्रिया सुरु हुनुअघि नै विभिन्न इन्स्टिच्युट र विद्यालयहरूले ब्रिज कोर्षका नाममा अभिभावक र विद्यार्थीबाट ठुलो रकम असुल गरिरहेको मन्त्रालयको ठहर छ ।
बिदाको समयमा पनि विद्यार्थीलाई थप शैक्षिक दबाब दिँदा उनीहरूको सिर्जनात्मक क्षमता र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । असमानताको खाडल: महँगो शुल्क तिर्न सक्ने र नसक्ने विद्यार्थीहरूबीच यसले शिक्षामा विभेद सिर्जना गरेको र पहुँचलाई चुनौतीपूर्ण बनाएको मन्त्रालयले जनाएको छ ।
शिक्षालाई व्यापारिकरण हुनबाट रोक्न र सबै विद्यार्थीका लागि समान अवसर सुनिश्चित गर्न यो कदम चालिएको हो । ब्रिज कोर्षका नाममा भइरहेका अनधिकृत कक्षा र असुली अब स्वीकार्य हुने छैन," मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयले स्थानीय तह र सम्बन्धित निकायहरूलाई यस निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न र नियम विपरीत कक्षा सञ्चालन गर्ने संस्थाहरूलाई अनुगमन गरी कानुनी दायरामा ल्याउन समेत आग्रह गरेको छ । अब विद्यालय र कलेजहरूले तोकिएको समयमा मात्र भर्ना प्रक्रिया र नियमित कक्षा सञ्चालन गर्न पाउनेछन् ।
यो निर्णयसँगै अब विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (SEE) वा अन्य तहको परीक्षापछि दिइने अनावश्यक ट्युसन र तयारी कक्षाहरूबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । मन्त्रालयले विद्यार्थीहरूलाई फुर्सदको समय रचनात्मक कार्य वा सीपमूलक गतिविधिमा लगाउन प्रोत्साहित समेत गरेको छ ।