राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ पुष, २०८२
२०८२ पुष १३, दाङ । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औंपचारिक घोषणा गरेका हुन् । प्रदेशका १२ वटै जिल्लालाई घोषणा गरिसकेपछि लुम्बिनी प्रदेश परिषरमा विशेष समारोहको आयोजना गरि साक्षर प्रदेश घोषणा गरिएको हो ।
साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएसंगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो । संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक शिक्षा,अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । नेपाल सरकारले यूनेसको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ । पढ्न लेख्न सक्ने,सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा महत्त्वपूर्ण उपलब्धि भए पनि अब शिक्षित प्रदेश निर्माणतर्फ अघि बढ्नुपर्ने बताए । शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको संयुक्त प्रयासका कारण साक्षर प्रदेश सम्भव भएको उल्लेख गर्दै उनले साक्षरताको दिगोपनामा जोड दिए ।
“घोषणा आफैँमा ठूलो कुरा होइन, साक्षरतालाई टिकाइराख्नु मुख्य चुनौती हो,” मुख्यमन्त्री आचार्यले भने, “अब साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्ने दिशामा छिट्टै अघि बढ्नुपर्छ ।” उनले नवयुवाहरू दुर्व्यसनमा फस्दै जानु चिन्ताजनक विषय भएको उल्लेख गर्दै दुर्व्यसनमुक्त प्रदेश बनाउने अभियानलाई सशक्त बनाइनुपर्ने पनि बताए ।
प्रदेशमा पाँच हजार ७२२ सामुदायिक बालविकास केन्द्र, चार हजार ४३९ सामुदायिक विद्यालय, तीन विश्वविद्यालय, एक सय ८७ क्याम्पस र ३२९ सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन् । विद्यालय तहमा १२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा साक्षर प्रदेश घोषणा अभियानमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । प्रदेशका पाल्पा,अर्घाखाँची, गुल्मी, दाङ, रुपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ ।