राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ भाद्र, २०८२
२०८२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा निजी विद्यालय सञ्चालकहरूले आज स्कुल बससहितको विरोध प्रदर्शन गरेका छन् । विभिन्न निजी विद्यालय संगठनहरू—प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आयोजनामा गरिएको उक्त प्रदर्शनमा सयौँ बसहरूको लामो लाइन चक्रपथमा देखिएको थियो ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । विशेषतः ‘पूर्ण छात्रवृत्ति’ र ‘गैरनाफामूलक’ शब्दावलीबारे असहमति जनाउँदै विद्यालय सञ्चालकहरूले विधेयक सच्याउन माग गरेका छन्। शिक्षा समितिबाट विधेयक पारित भइसकेको अवस्थामा यसलाई सुधार नगरेसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।
निजी विद्यालयहरूका प्रतिनिधिहरूका अनुसार, वर्तमान प्रावधानले विद्यालय सञ्चालनमा व्यवहारिक चुनौती सिर्जना गर्ने भएकाले सरकारले चाँडै समाधान खोज्नुपर्ने आवश्यकता छ। प्रदर्शन शान्तिपूर्ण भए पनि यसले राजधानीको चक्रपथ क्षेत्रको यातायातमा केही समय अवरोध पुर्याएको थियो ।