राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ बैशाख, २०८२
८ बैशाख २०८२, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी छन् । मन्त्री भट्टराईको राजीनामालाई उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरेका छन् ।
लम्सालले भने, "प्रधानमन्त्रीज्यूलाई भेटेर पत्र बुझाउनुभएको छ। अब स्वीकृत हुन्छ होला।"
देशभरका शिक्षकहरूले शिक्षक महासंघको नेतृत्वमा २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । शिक्षकहरूको आन्दोलन र त्यससँग जोडिएका मुद्दाहरूका कारण मन्त्रीको भूमिकाप्रति विभिन्न तहबाट प्रश्न उठिरहेका थिए।
भट्टराईले राजीनामा दिनुको ठोस कारण सार्वजनिक नगरे पनि यो कदमलाई उच्च नैतिकताको उदाहरणका रूपमा हेरिएको छ। विद्यमान परिस्थितिमा जिम्मेवारीको अनुभव गर्दै पद त्याग गर्नुले उनले आफ्नो निष्ठा र जवाफदेहिता प्रकट गरेको धेरैले टिप्पणी गरेका छन् ।