मंगलवार, २८ आश्विन, २०८२

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

२०८२ साउन १४, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार सो स्थानमा बिहान ९ः३० बजे पहिरो गएको थियो । दिउँसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् ।

उनको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

advertisement_1680627706.gif