राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ श्रावण, २०८२
४ साउन २०८२, पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज बिहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् ।
उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी–३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ ।
यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।