राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ जेष्ठ २७, काठमाडौं । काठमाडौँ उपत्यकामा सामाजिक सञ्जालको प्रयोग गरी यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये चार पुरुष र बाह्र महिला रहेका छन् ।
प्रहरीका अनुसार उक्त समूहले फेसबुक, ह्वाट्सएप लगायतका डिजिटल माध्यम प्रयोग गरी ग्राहकसँग सम्पर्क स्थापना गर्ने, फोटो तथा भिडियोमार्फत आकर्षण देखाउने र मोलमोलाइ गर्ने कार्य गर्दै आएको थियो । त्यसपछि उनीहरूलाई विभिन्न होटेलमा पुर्याएर यौनजन्य गतिविधि गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अभियानका क्रममा पक्राउ परेका पुरुषमध्ये मकवानपुरको मनहरी गाउँपालिका-२ का ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौँ महानगरपालिका-९ शम्भुमार्ग बस्ने २९ वर्षीय राजकुमार गौतम रहेका छन् ।
त्यसैगरी पक्राउ परेका महिलाहरूमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमलामाया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङ रहेका छन् ।
अनुसन्धान अनुसार उक्त समूहले ग्राहक खोज्ने, सौदाबाजी गर्ने तथा आवश्यक समन्वय गर्ने कार्य अनलाइनमार्फत गर्दै आएको थियो । ग्राहकलाई ट्याक्सी तथा निजी सवारीसाधनमार्फत गौशालाको शम्भुमार्ग तथा बत्तीसपुतली आसपासका विभिन्न होटेलमा पुर्याइ यौनजन्य गतिविधि गराउने व्यवस्था मिलाइएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।