राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १३ भाद्र, २०८३
२०८३ भदौ १३ धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद चोरी गर्ने २९ जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद भएको छ ।
भोटेकोशीको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेलखुखोलास्थित त्रिशुली नदीको किनारमा फेला परेको थियो । स्थानीय मानिसहरूले उक्त सेफ तोडफोड गरी भित्र रहेको नगद आफूखुसी निकालेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
छानबिन तथा खानतलासीका क्रममा प्रहरीले घटनामा संलग्न २९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारका पवन पौडेल, बिरबहादुर रानामगर, बिनोद गिरी, नवराज भेटुवाल, पुर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिबबहादुर रानामगर, युवराज अधिकारी रहेका छन् ।
त्यस्तै सुचिमबहादुर रानामगर, सबिन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुबेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दिपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन् ।
त्यस्तै गल्छी–६ आदमघाटका सुसान्त श्रेष्ठ, नारायण श्रेष्ठ, अग्नि आलेमगर, गल्छी–८ सिमपानीका सानुभाइ श्रेष्ठ, सिद्धलेक७ आदमटारका सानु खतिवडा, चितवन राप्ती–६ घर भई आदमघाट बस्ने बिचारी आलेमगर र पर्सा बहुदरीमाई–९ घर भई आदमघाट बस्ने सकुर अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।