राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १८ श्रावण, २०८२
२०८२ साउन १७, ताप्लेजुङ । आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका-३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-१ बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्ने सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय नृप भन्ने निरज साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी याचनाको निषर्ग अस्पताल प्रालि धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।