बिहीबार, ११ असार, २०८३

गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिक पक्राउ

२०८३ असार १०, काठमाडौं । पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद सकिएको पर्यटक भिसामा काठमाडौंका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका २४ जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

advertisement_1676551694.gif