राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ बैशाख १०, कास्की । कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि चलाएको स्वीप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ ।
स्वीप अपरेसनमा टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।
काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम तीव्र देखियो । यो गतिविधि बिहीबार बिहानसम्म करिब १० घन्टा जारी चेलको थियो ।
बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरी अपरेसन चलाइएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको पृष्ठभूमि र गतिविधिबारे अनुसन्धान जारी छ । पोखरामा लागुऔषध प्रयोगकर्ता र कारोबार बढ्दै गएको तथा ‘जेनजी’ आन्दोलनपछि गुण्डागर्दीसम्बन्धी गुनासो बढेपछि यस्तो अपरेसन सञ्चालन गरिएको हो ।