राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ असार, २०८२
१९ असार २०८२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ को कुनै पनि बस्तीमा नरहेको विद्यालय दुर्गा प्राथमिक विद्यालय, तिप्लाको नाममा योजना पारेर अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सो मुद्दामा अख्तियारले जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मि, दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध मुद्दा दायर गरेको छ ।
डोल्पा ठुलीभेरी नगरपालिका वडा नं.४ साविक दुनै गाविस वडा नं. २ र ३ मा श्री लालीगुँरास आधारभूत विद्यालय मात्रै भएको र दुर्गा प्रा.वि. को नामले हालसम्म कुनै पनि विद्यालय नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्रतिवादीहरुसँग ७ लाख ६० हजार रुपियाँ बिगो कायम गरी असुल उपरको मागदाबी गरिएको छ ।